काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई जोडेर सार्वजनिक गरिएको विवादास्पद अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन्।
प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उल्लेख गर्दै सुनारले विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको बताएका छन्।
फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले हिजोदेखि आफ्नो नाम जोडेर एक काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गरेका छन्। उनले अहिलेसम्म सार्वजनिक भएका सबै आरोप झुटा भएको जिकिरसमेत गरेका छन्।
‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ सुनारले फेसबुकमा लेखेका छन्।
आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न उनले पार्टी र सरकारसँग हार्दिक अपिल गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूले निर्मम अत्याचार र घृणाको सामना गर्नुपरेको उनको दाबी छ।
‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले लेखेका छन्।




प्रतिक्रिया