अधिकार र संघीयता सुदृढ गर्न विराटनगरमा ६ प्रदेशका मुख्यमन्त्रीहरूको भेला


विराटनगर । देशमा संघीयता कार्यान्वयनको अभ्यास तीव्र भइरहँदा प्रदेशका अधिकार सुनिश्चितता र साझा अवधारणा निर्माणका लागि विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ।

कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको यस सम्मेलनले प्रदेशहरूबीचको आपसी समन्वयलाई मजबुत बनाउने र अधिकार प्राप्तिको लडाइँमा साझा रणनीति तय गर्ने लक्ष्य लिएको छ।

सम्मेलनमा सहभागी हुन ६ वटा प्रदेशका मुख्यमन्त्रीहरू विराटनगर आइपुगेका छन्। आयोजक कोशी प्रदेशबाहेकका पाँच प्रदेशका मुख्यमन्त्रीहरू सोमबार नै विराटनगर पुगिसकेका छन्।

संघीय शासन प्रणाली आएपछि प्रदेश सरकारहरूले भोग्दै आएका अधिकारसम्बन्धी चुनौती, बजेट तथा अधिकार बाँडफाँड र प्रशासनिक जटिलताका विषयमा सम्मेलनमा गहन छलफल हुने जनाइएको छ।

सबै प्रदेशका तर्फबाट एउटै बलियो र स्पष्ट धारणा बनाएर संघ सरकारसमक्ष पेश गर्ने उद्देश्य यस सम्मेलनले राखेको छ।