काठमाडाैँ। कोलम्बियामा सरकारी सेनाले गरेको हवाई आक्रमणमा एक किशोरीसहित चार जना सङ्दिग्ध विद्रोही मारिएका छन् । रक्षामन्त्रीले सोमबार उक्त जानकारी दिएका छन्।
अगस्टमा पदभार सम्हालेयता राष्ट्रपति एबेल्लार्डो डे ला एस्प्रिएलाको आदेशमा गरिएको यो चौथो हवाई आक्रमण हो । यस अवधिमा सात जना नाबालिगसहित ४६ जना सङ्दिग्ध विद्रोही मारिएको जनाइएको छ ।
आइतबार बिहान सबेरै गरिएको आक्रमण भेनेजुएलासँग सीमा जोडिएको उत्तरपूर्वी काटाटुम्बो क्षेत्रमा रहेको विघटित विद्रोही समूह ‘फार्क’ (एफएआरसी)को विद्रोही खेमाको शिविरलाई लक्षित गरी गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा रक्षामन्त्री जर्ज मोराले तीन पुरुष र १६ वर्षीया एक किशोरीको मृत्यु भएको जानकारी दिए । उनले सशस्त्र समूहले नाबालिगलाई भर्ती गर्ने कार्यको निन्दा गरे।
मानवअधिकारवादी समूहले सामाजिक सञ्जालमा आकर्षक अभियान सञ्चालन गरेर सशस्त्र समूहले बालबालिका तथा किशोरकिशोरीलाई भर्ती गर्ने क्रम बढाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
मोराका अनुसार आक्रमणका क्रममा बारुदी सुरुङ बिछ्याइएको क्षेत्रमा तीन जना सैनिक पनि गम्भीर रूपमा प्रभावित भएका छन्।
विश्वकै प्रमुख कोकिन उत्पादक राष्ट्रमध्ये एक कोलम्बिया पछिल्लो एक दशकयताकै सबैभन्दा खराब हिंसात्मक अवस्थाको सामना गरिरहेको छ। पदभार सम्हालेयता राष्ट्रपति डे ला एस्प्रिएलाले सशस्त्र समूहविरुद्ध हवाई आक्रमण र स्थलगत सैन्य कारबाही तीव्र बनाए।
यसैबिच कोलम्बिया ‘शिल्ड अफ द अमेरिकाज’ गठबन्धनमा पनि सहभागी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवर्द्धन गरेको यस गठबन्धनमा अर्जेन्टिना, इक्वेडर र एल साल्भाडोरलगायत ल्याटिन अमेरिकी देश सहभागी छन्। यसको उद्देश्य लागुऔषध तस्करीमा सङ्लग्न समूह तथा कार्टेलविरुद्ध सहकार्य गर्नु हो। रासस




प्रतिक्रिया