चीन–उत्तर कोरिया जोड्ने पुल बिहीबार खुल्ने


काठमाडौँ । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि सञ्चालनमा आउन लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती सहर डान्दोङलाई उत्तर कोरियासँग जोड्नेछ । उत्तर कोरियातर्फ सडक र भन्सार पूर्वाधारको अभावका कारण पुल सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो । महामारीका बेला बन्द भएका दुई देशबीचका रेल सेवा छ वर्षपछि गत मार्चमा पुनः सञ्चालनमा आएका थिए ।

नयाँ पुलले सीमित क्षमता भएको दशकौँ पुरानो चीन–कोरिया मैत्री पुलको विकल्पका रूपमा काम गर्नेछ । अनुसन्धानकर्ता आन चान–इलका अनुसार नयाँ पुलबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्न सक्नेछन् । यसले चीनका वस्तु तथा स्रोतसाधन उत्तर कोरिया पुर्‍याएर त्यहाँको अर्थतन्त्रलाई टेवा दिन सक्ने उनले बताए ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पुल सञ्चालनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उत्तर कोरियाले भने चिनियाँ पर्यटकका लागि भिसा जारी गर्न सुरु गरेको छैन ।

उत्तर कोरिया र रुसबीच पहिलो सडक पुल सञ्चालनमा आएको एक महिनापछि चीनसँगको यो पुल खुल्न लागेको हो । विश्लेषकहरूका अनुसार रुससँगको व्यापारमा सैन्य सामग्रीको भूमिका प्रमुख रहे पनि चीनसँगको व्यापारले उत्तर कोरियाको नागरिक अर्थतन्त्र विकास गर्न आवश्यक वस्तु उपलब्ध गराउन सक्छ ।