काठमाडौँ । लामो दूरीका सार्वजनिक यातायातमा यात्रा गर्दा राजमार्गका होटेलहरूमा बासी, गुणस्तरहीन र चर्को मूल्यको खाना खानुपर्ने यात्रुहरूको वर्षौँदेखिको बाध्यतालाई लक्षित गर्दै सरकारले कडाइ गर्ने भएको छ। सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुहरूलाई बासी, झिँगा भन्केका र न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको पाइएमा सम्बन्धित सवारी चालक र होटेल वा रेस्टुरेन्ट सञ्चालक दुवैमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
विशेषगरी राजमार्गमा चल्ने बसहरूले अस्वाभाविक र गुणस्तरहीन खाना खुवाउने होटेलमा गाडी रोक्ने र यात्रुहरू ठगिने क्रम नरोकिएपछि यातायात व्यवस्था विभाग तथा सम्बन्धित निकायहरूले यसमा सक्रियता बढाएका हुन्।
सफा र स्टिकरयुक्त होटेललाई मात्र प्राथमिकता
यातायात व्यवस्था विभागले गुणस्तरहीन खाना र चर्को मूल्य असुल्ने प्रवृत्ति नियन्त्रण गर्न सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटेल तथा रेस्टुरेन्टमा मात्र यात्रुहरूलाई खाजा वा खाना खान गाडी रोक्न चालकहरूलाई विशेष अनुरोध गरेको छ।
यसैगरी, खानाको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसेका होटेल तथा रेस्टुरेन्टहरूलाई प्राथमिकता दिन सवारी चालकहरूलाई निर्देशन दिइएको छ। स्टिकरप्राप्त होटेलहरूमा खानाको न्यूनतम मापदण्ड पालना हुने भएकाले यात्रुको स्वास्थ्यमा पर्न सक्ने जोखिम कम हुने अपेक्षा गरिएको छ।
यात्रु बिरामी परे कडा सजाय
अहिलेसम्म होटेलको बदमासीमा यात्रुले मात्र सास्ती भोग्नुपरेको अवस्थालाई अन्त्य गर्न यसपटक कडा सजायको व्यवस्था गरिएको छ। यदि कुनै होटेल वा रेस्टुरेन्टको खानाको गुणस्तरका कारण यात्रु बिरामी भएको पुष्टि भएमा प्रचलित कानुनबमोजिम होटेल सञ्चालक र गाडीका चालक दुवैलाई समानरूपमा दोषी मानी कडा कारबाही गरिनेछ। यस प्रावधानले चालक र होटेल सञ्चालकबीच हुने अस्वस्थ मिलेमतोलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
ठगी वा न्यून गुणस्तर भए कहाँ गर्ने उजुरी ?
यात्राका क्रममा खानाको गुणस्तरमा कमी पाइएमा, बासी वा दूषित खाना बिक्री गरेमा तथा तोकिएभन्दा बढी मूल्य असुली गरी ठगी गरेमा यात्रुहरूले तत्कालै निम्न निकायहरूमा उजुरी तथा जानकारी गराउन सक्नेछन्:
- नेपाल प्रहरीको नि:शुल्क हेल्पलाइन नम्बर: १००
- स्थानीय प्रशासन: सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय
- खाद्य नियमन निकाय: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा यसका मातहतका नजिकका कार्यालयहरू
प्रशासनको यो कदमसँगै राजमार्गका होटेलहरूको सेवा सुध्रिने र यात्रुहरूले सुरक्षित तथा स्वच्छ खाना खान पाउने आशा गरिएको छ।





प्रतिक्रिया