सार्वजनिक शिक्षा रूपान्तरणको प्रयास: १०९ विद्यालयको पूर्वाधार सुधारमा ठूलो लगानी


काठमाडौँ। सरकारले ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ठूलो धनराशि विनियोजन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको हो।

चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयले जनाएको छ। निकासा भएको रकमबाट प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागत अनुमानमा आधुनिक सुविधायुक्त भवनहरू निर्माण गरिनेछन्।

मन्त्रालयका अनुसार प्रत्येक विद्यालयमा आधुनिक कक्षाकोठा, विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला र व्यवस्थित पुस्तकालयसहितको १२ कोठे तीनतले भवन बनाइनेछ। यसबाट विद्यार्थीका लागि सुरक्षित, प्रविधिमैत्री र गुणस्तरीय सिकाइ वातावरण तयार हुने विश्वास लिइएको छ।

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप रहेको र कतिपयमा भने न्यून उपस्थिति रहेको अवस्थालाई सम्बोधन गर्न यो योजना अघि सारिएको हो। ठूला विद्यालयको पूर्वाधार सुदृढ गर्दै लैजाने र क्रमशः सबै विद्यालयबीचको भौतिक तथा शैक्षिक असमानता हटाउने सरकारको लक्ष्य रहेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक शिक्षाको समग्र रूपान्तरणका लागि भौतिक पूर्वाधार विकाससँगै शिक्षक, अभिभावक र विद्यार्थीबीचको बलियो सहकार्य आवश्यक रहेको छ। मन्त्रालयले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा सबै पक्षलाई जिम्मेवार भएर हातेमालो गर्न आह्वानसमेत गरेको छ।