काठमाडौँ । दशैँ भन्नेबित्तिकै नेपालीको मनमा खुसी र उमङ्ग छाउँछ। नयाँ लुगा लगाउने, नयाँ गाडी चढ्ने र परिवारसँग घुमफिर गर्ने सपना धेरैले देखेका हुन्छन्। तर, यसपटक बाढीपहिरो र सडकको दयनीय अवस्थाका कारण धेरैको सपना अधुरै रहेको छ। दशैँअघि नै नयाँ गाडी चढ्ने योजना बनाएका ग्राहकले समयमै गाडी पाउन सकेनन् भने व्यवसायीले पनि आयात गरेर ल्याएका सवारीसाधन बजारसम्म पुर्याउन सकेका छैनन्।
गत असोज ११ गते रसुवाकाे भाेटेकाेशीमा आएको बाढीपहिरोकाे कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनबाट कोरलानाका हुँदै नेपाल भित्रिएका हजारौँ विद्युतीय सवारीसाधन (ईभी) मुस्ताङमै रोकिएका छन्।
मुस्ताङमा रोकिए २ हजार ५०० भन्दा बढी ईभी
सडक अवरुद्ध भएयता दुई साताको अवधिमा कोरलानाकाबाट २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। तर, तीमध्ये ठूलो सङ्ख्याका गाडी गन्तव्यमा पुर्याउन नसक्दा कोरलानाका र जोमसोमका विभिन्न स्थानमा पार्किङ गरेर राखिएका छन्।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र मुस्ताङ भन्सार यार्डमा दुई हजारभन्दा बढी विद्युतीय गाडी राखिएका छन्। कोरलास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी गाडी पार्किङमा छन्।
धितालका अनुसार कोरलानाकामा भन्सार जाँचपास भएपछि स्थानीय चालकले गाडी भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्। त्यसपछि सम्बन्धित कम्पनीका चालकले गाडी तल झार्ने गर्छन्। नाकामा रोकिएका गाडी भन्सार जाँचपासपछि गन्तव्यतर्फ पठाउन सहजीकरण भइरहेको उनले बताएका छन्।
त्यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका ५०० भन्दा बढी विद्युतीय सवारीसाधन त्यहाँका दुई पार्किङस्थलमा राखिएका छन्। शुक्रबार साँझदेखि बेनी–जोमसोम सडक सञ्चालनमा आए पनि अवस्था अझै नाजुक रहेकाले गाडी गन्तव्यतर्फ पठाउन कठिन भइरहेको छ।
नाडाका महासचिव मल्ल भन्छन् : चीनसँगको व्यापार गाह्रो भयो
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव तथा युवा व्यवसायी मिलनबाबु मल्लले पनि चीनबाट ग्राहकका लागि अर्डर गरेर ल्याउन लागिएका गाडी बाटोमै रोकिएको गुनासो गरेका छन्। सडकको समस्याले ग्राहकलाई समयमै गाडी उपलब्ध गराउन नसकिएको र यसले व्यवसायमा असर पारेको उनको भनाइ छ।
“चीनसँगको व्यापार गाह्रो भयो। सरकारले नचाहेको होइन। तर, कोरला नाका बाढीले ध्वस्त बनायो,” मल्लले भने, “अहिले सडकको अवस्था नाजुक छ। अहिले सबै गाडी कोरला नाका र जोमसोममा अड्किएको छ।”
ग्राहकबाट अर्डर लिएर गाडी आयात गरे पनि सडककै कारण समयमै डेलिभरी गर्न नसक्दा ग्राहक असन्तुष्ट बन्ने अवस्था आएको मल्लले बताए। व्यवसायीले आयात प्रक्रिया पूरा गरे पनि गाडी बजारसम्म पुर्याउन नसक्दा व्यापार प्रभावित भएको उनको गुनासो छ। यही अवस्था निरन्तर रहे व्यवसायबाटै हात झिक्नुपर्ने परिस्थिति आउन सक्ने चिन्तासमेत उनले व्यक्त गरेका छन्।
सडक सहज नहुँदा व्यापार प्रभावित
बेनी–जोमसोम सडक सञ्चालनमा आए पनि पूर्ण रूपमा सहज नहुँदा कोरलानाकाबाट भित्रिएका गाडी नियमित रूपमा गन्तव्यसम्म पुर्याउन कठिन भइरहेको छ। सडकको कमजोर अवस्थाले आयात तथा ढुवानी प्रक्रिया प्रभावित हुँदा व्यवसायी र ग्राहक दुवै मारमा परेका छन्।
चाडपर्वको समयमा नयाँ गाडीको माग बढ्ने भए पनि सडक समस्याका कारण ग्राहकले समयमै सवारी पाउन सकेका छैनन्। अर्कोतर्फ, व्यवसायीले बिक्रीका लागि ल्याएका गाडी रोकिँदा आर्थिक तथा व्यावसायिक दबाब खेप्नुपरेको छ।
कोरलानाकाबाट आयात भएका गाडी सहज रूपमा बजारसम्म पुर्याउन सडक पूर्वाधारको स्तरोन्नति र मर्मत आवश्यक देखिएको छ।




प्रतिक्रिया