किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते


किएभ, २८ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति राजधानी किएभमा भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्राप्त नभएको बताएका छन्। यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रोपटक भएको उनले उल्लेख गरे ।

जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार, आक्रमणका कारण राजधानी किएभस्थित एउटा आवासीय भवनमा क्षति पुगेको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । साथै, राजधानीको प्रमुख विद्युत् उत्पादन केन्द्रमध्ये एउटालाई समेत निशाना बनाइएको उनले बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सप्ताहान्तमा रुस र युक्रेन ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपति जेलेन्स्कीले पनि रुस ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भए युक्रेनले समेत त्यसमा सहमति जनाउने बताए ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनसँग गुप्तचरसम्बन्धी सूचना आदानप्रदान गरिरहेको र युद्ध अन्त्यका लागि रुस तथा युक्रेन दुवै पक्षसँग निरन्तर प्रयास गरिरहेको बताए ।

“हामी उनीहरूलाई सहयोग गरिरहेका छौँ र गुप्तचरसम्बन्धी सूचना पनि साझा गरिरहेका छौँ,” ट्रम्पले भने । यसैबीच, युक्रेनी समाचार संस्था उक्रिनफर्मका अनुसार बुधबार बिहान पनि रुसले किएभलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि राजधानीमा पुनः विस्फोटका आवाज सुनिएका थिए ।

लगातार भइरहेका आक्रमणका घटनाले युक्रेनमा सर्वसाधारणको सुरक्षा तथा महत्त्वपूर्ण ऊर्जा पूर्वाधारको संरक्षणप्रति थप चासो बढाएको छ । यस्तो अवस्थामा युद्धविरामसम्बन्धी सहमतिको प्रभावकारी कार्यान्वयन, सम्बन्धित पक्षबीच संवाद र कूटनीतिक प्रयासलाई निरन्तरता दिनु महत्त्वपूर्ण देखिएको छ । रासस