अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड


क्यानबेरा, २८ असोज । अस्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन् । अस्ट्रेलिया सरकारले बुधबार यसबारे जानकारी दिएको हो ।

राष्ट्रिय मानसिक स्वास्थ्य सहायता दिवसका अवसरमा जारी विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सहायक मन्त्री एम्मा म्याकब्राइडले देशभरका १७६ वटा केन्द्रमार्फत ९५ लाखभन्दा बढी निःशुल्क परामर्श सेवा प्रदान गरिएको बताए ।

सरकारले ५६ वटा मानसिक स्वास्थ्य सहायता केन्द्र स्थापना, स्तरोन्नति तथा विस्तार गर्न २१ करोड १५ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब १४ करोड ९० लाख अमेरिकी डलर लगानी गरिरहेको छ । विस्तार योजना पूरा भएपछि देशभर यस्ता केन्द्रको सङ्ख्या २०० भन्दा बढी पुग्ने अपेक्षा गरिएको छ ।

विस्तार योजनाअन्तर्गत जटिल मानसिक स्वास्थ्य समस्या भएका युवालाई लक्षित गरी विशेष सेवा केन्द्रहरू पनि सञ्चालनमा ल्याइनेछ । ती केन्द्रमा मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता, सहकर्मी सहयोगी तथा परामर्शदाताले एकीकृत रूपमा सेवा प्रदान गर्नेछन् ।

विज्ञप्तिअनुसार, अस्ट्रेलियामा प्रत्येक वर्ष करिब पाँचमध्ये दुई जना युवाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या सामना गर्छन् । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तीनचौथाइ समस्या २५ वर्षको उमेर पुग्नुअघि नै देखा पर्ने गरेका छन् ।

म्याकब्राइडले यी उपलब्धिले युवामा मानसिक स्वास्थ्य सेवाको माग बढ्दै गएको देखाएको बताए । उनले समस्या गम्भीर बन्नुअघि नै युवालाई आवश्यक परामर्श, उपचार तथा सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण रहेकोमा जोड दिएको छ । रासस