काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका बाबु थापा पक्राउ परेका छन्। सर्लाही घर भएका थापालाई प्रहरीले बुधबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार सर्लाहीको बागमती नगरपालिका–१ निवासी थापालाई घरबाटै पक्राउ गरिएको हो। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका थिए।
४८ वर्षीय थापालाई पक्राउ गर्ने क्रममा प्रहरीले उनको साथबाट दुई थान पेस्तोलसमेत बरामद गरेको छ। कारागारबाट भागेपछि विभिन्न स्थानमा लुकेर बसेका उनी गएराति घर पुगेको प्रहरीको भनाइ छ। उनलाई इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
डीएसपी राईका अनुसार थापाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान गरिनेछ।
न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते हत्या भएको थियो। उक्त हत्यामा संलग्न रहेको कसुरमा अदालतले थापालाई जन्मकैदको सजाय सुनाएको थियो। उनी यसअघि २०७१ सालमा पक्राउ परेका थिए।




प्रतिक्रिया