पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु


कास्की, २९ असोज । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार पोखरा-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा-बुटवल सडकखण्डमा विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग१४प ४८७९ नम्बरको मोटरसाइकलले आज बिहान बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको जनाउँदै प्रहरी नायब उपरीक्षक पासवानले बताए । घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी खिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This