दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने–’विभाजित होइन एकीकृत नेपाल निर्माण गराैँ’


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै मुलुकमा राष्ट्रिय एकता, आत्मनिर्भरता र स्थिरता कायम गर्न आह्वान गरेका छन्।

दशैँको शुभकामना सन्देशमार्फत उनले प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता तथा आर्थिक र सामाजिक क्षेत्रको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। देशले सामना गरिरहेका चुनौतीबाट पार पाउन सबै पक्ष जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ।

भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढी तथा निरन्तरको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै पूर्वराजा शाहले विपत्तिबाट सिर्जित पीडालाई शक्तिमा रूपान्तरण गरी पुनःनिर्माण र पुनःस्थापनामा जुट्नुपर्ने बताएका छन्। क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण तथा प्रभावित नागरिकको तत्काल पुनःस्थापनालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।

उनले विपद् व्यवस्थापनका क्रममा विदेशी सहयोग लिनुपरे पनि राष्ट्रिय स्वाभिमान, मौलिकता र स्थानीय परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। बाह्य सहयोगसम्बन्धी निर्णय गर्दा कूटनीतिक सतर्कता अपनाउनुपर्ने उनको सन्देश छ।

मुलुकका राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक क्षेत्रमा अन्योल देखिएको उल्लेख गर्दै उनले लोकतान्त्रिक विधि र प्रक्रियालाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। देशको अर्थतन्त्रलाई सुधार गर्दै समग्र राष्ट्रिय अवस्थालाई सकारात्मक दिशामा लैजान सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

नयाँ पुस्ताले देशको नेतृत्व र जिम्मेवारी सम्हाल्दै मुलुकलाई आशावादी भविष्यतर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै पूर्वराजा शाहले विभाजनको सट्टा एकता र परनिर्भरताको सट्टा आत्मनिर्भरतालाई प्राथमिकता दिन आग्रह गरेका छन्। एकीकृत, स्वाभिमानी र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको सन्देश छ।

Skip This