नयाँ दिल्ली । भारतको दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ। उनलाई बिहीबार दिल्लीको मण्डी हाउस क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले बोरालाई नियन्त्रणमा लिनुअघि उनीसहित समर्थक र वामपन्थी दलका कार्यकर्ताहरूले मण्डी हाउस क्षेत्रबाट ‘तिरंगा मार्च’ सुरु गरेका थिए। उक्त प्रदर्शनमा सहभागी आइसा तथा अन्य वामपन्थी संगठनका कार्यकर्ताहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बीबीसी हिन्दीले जनाएको छ।
नेहा बोराको आधिकारिक ‘एक्स’ अकाउन्टबाट गरिएको पोस्टमा उनलाई हिरासतमा लिएपछि अज्ञात स्थानमा लगिएको दाबी गरिएको छ। पोस्टमा भनिएको छ, “नेहालाई हिरासतमा लिइएको छ र अज्ञात स्थानतर्फ लगिएको छ। उनीसँग फोन पनि छैन। दिल्ली प्रहरीले जवाफ दिनुपर्छ—नेहा कहाँ छिन् ? यो हिरासत होइन, उनलाई फेरि एकपटक अपहरण गरिएको हो।”
प्राप्त जानकारीअनुसार बोरा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनमा सहभागी भएकी थिइन्। सोही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
यसअघि दिल्ली प्रहरीले ‘कक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दीपकेलाई समेत नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया