आज महानवमीः शक्तिपीठहरुमा बली दिइँदै


काठमाडौँ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दसैँको नवौँ दिन आश्विनशुक्ल नवमी तिथिमा देवी सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

माता महागौरीलाई सत्य र सांस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशीर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारी कुमारीका, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रुपमा कन्याको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।

महानवमीका दिन घरघर स्थापना गरिएका दसैँंघर, देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक बलीपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा, बोका, भेडा, कुखुरा, हाँसका भालेको पञ्चबली पनि दिइन्छ भने सात्विक पूजा गर्नेले कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूलको भोग लगाउने चलन छ ।

शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ । राज्यशक्तिकी माता तलेजु भवानीको यस दिनमा बडो भक्तिपूर्व पूजा गरिन्छ । काठमाडौँको हनुमानढोका उत्तरमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक पटक नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

काठमाडौँ उपत्यकाका नव दुर्गाहरुमध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बंगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।

यसैगरी, पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, कंकालिनी, सखडा भगवती, कालिञ्चोक भगवती,पाल्चोक पलाञ्चोक, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङकालिका, मौलाकालिका, छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी, गह्रौँकालिका, दुर्लुङकोट, बाग्लुङ कालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी, बागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजा आराधना गरिँदैछ ।

Skip This