छठपछि हुन सक्ने आन्दोलन वार्ताबाट रोक्नुपर्छ : राजनीतिक विश्लेषक पण्डित


काठमाडौं । राजनीतिक विश्लेषक गाण्डी पण्डितले छठपछाडि विभिन्न दल तथा शक्तिहरूले गर्ने भनिएको आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्ने बताएका छन्। उनले सम्भावित आन्दोलनलाई सम्बोधन गर्न सरकारले सम्बन्धित पक्षसँग संवाद गर्नुपर्नेमा जोड दिएका छन्।


रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा आज आफ्नो धारणा राख्दै पण्डितले अर्थतन्त्र चलायमान बनाउन राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।


उनले नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच वार्ता हुनुपर्ने धारणा राखे। प्रमुख दलहरूबीच संवाद र सहकार्य भए अर्थतन्त्रलाई गति दिन सहयोग पुग्ने उनको भनाइ छ।


पण्डितले संविधान संशोधन गरेर न्यायालयमा आमूल परिवर्तन गर्नुपर्ने पनि बताए। न्यायालयमा सुधारका लागि संविधान संशोधन आवश्यक रहेको उनको धारणा थियो।


त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविबीच सहकार्य र वार्ता अनिवार्य रहेको बताए। मुलुकका राजनीतिक तथा आर्थिक चुनौती सम्बोधन गर्न उनीहरूबीच संवाद हुनुपर्नेमा पण्डितले जोड दिए।