बालेन नेतृत्वको सरकार लामो समय टिक्दैन : बोधराज न्यौपाने


काठमाडौं । राजनीतिक विश्लेषक बोधराज न्यौपानेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार लामो समयसम्म नटिक्ने दाबी गरेका छन्। उनले बालेनको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आउन सक्ने र उनी ६ महिनाभित्र प्रधानमन्त्री बन्न सक्ने बताएका छन्।


रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा आज आफ्नो धारणा राख्दै न्यौपानेले नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार लामो समयसम्म टिक्न नसकेको टिप्पणी गरे।


उनले रास्वपाप्रति जनतामा असन्तुष्टि देखिए पनि पुराना राजनीतिक दलप्रति भने जनताको विश्वास फर्किन नसकेको बताए।
पुराना दलप्रति जनताको अविश्वास कायम रहेकाले राजनीतिक विकल्पका रूपमा फेरि नयाँ शक्ति नै उदाउन सक्ने न्यौपानेको भनाइ छ।