काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका सबै पार्टी कमिटीलाई सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि नै पेज वा ग्रुप बनाइसकेका कमिटीले त्यसको विवरण पार्टी केन्द्रलाई बुझाउनुपर्नेछ भने नबनाएकाले तत्काल निर्माण गरी जानकारी गराउनुपर्नेछ।
पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) को सातौँ बुँदामा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी व्यवस्था गरिएको छ।
निर्देशनमा भनिएको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउन निर्देशन गरिन्छ।’
गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णयअनुसार नेकपाले असोज २५ गते अपानि जारी गरेको थियो। सोही बैठकको निर्णयअनुसार पार्टीले आज कात्तिक ७ गतेदेखि आगामी मंसिर २५ गतेसम्म देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ।
पार्टीले उक्त अभियानलाई राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीसँगै सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अघि बढाउन लागेको अपानिमा उल्लेख छ।
दुई महिनासम्म सञ्चालन हुने जागरण अभियानमार्फत पार्टीका गतिविधिलाई देशभर विस्तार गर्ने र आगामी राजनीतिक कार्यक्रमका लागि आधार तयार गर्ने नेकपाको योजना रहेको निर्देशनमा जनाइएको छ।




प्रतिक्रिया