कस्तो रहला आगामी चार दिनको मौसम ? 


काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। पहाडी तथा तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज राति कोशी प्रदेशका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

मङ्गलवार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने देखिएको छ। देशका अन्य भूभागमा मौसम प्रायः सफा रहनेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मङ्गलवार राति भने देशका सबै क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

बुधवार देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यस्तै, ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार भने मौसम थप बदली हुने देखिएको छ। देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।