काठमाडौं । पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि अवरुद्ध भएका नेपालका सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकलगायत अधिकांश सरकारी निकायका वेबसाइट अहिले खुल्न थालेका छन्।
साइबर सुरक्षा निकायहरूले पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सरकारी निकायलाई तत्काल सुरक्षा अपडेट लागू गर्न निर्देशन दिएका थिए। सुरक्षा सुधार गर्न नसक्ने अवस्थामा सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गर्नसमेत आग्रह गरिएको थियो। सोही सतर्कताका कारण विभिन्न सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू बन्द गरिएका थिए।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा प्याच लागू गरी परीक्षणसमेत सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन्।
केन्द्रले अझै सञ्चालनमा आउन बाँकी रहेका वेबसाइट तथा सेवाहरूलाई पनि चाँडै पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। यसका लागि केन्द्रका कर्मचारीहरू निरन्तर खटिएका छन्।
केन्द्रका अनुसार सरकारी प्रणालीमा देखिएको सुरक्षा कमजोरी समाधान गर्न दशैं बिदाको समयमा समेत कर्मचारीहरूले कामलाई निरन्तरता दिएका थिए। सुरक्षा अपडेट र प्राविधिक परीक्षण पूरा भएपछि अवरुद्ध सेवाहरू क्रमशः सञ्चालनमा ल्याइएको हो।




प्रतिक्रिया