काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं राष्ट्रिय हितमा आँच पुर्याउने खालको भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले विदेशी भूमिमा कुनै पनि सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताएका छन् ।
नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन् । कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने धारणा वा ‘युग’ का रूपमा व्याख्या गर्न नमिल्ने उनको भनाइ छ ।
ज्ञवालीले अर्थमन्त्री वाग्लेलाई लक्षित गर्दै ‘अर्थमन्त्रीले कुन युगको कुरा गर्नुभएको हो ?’ भन्ने प्रश्नसमेत गरेका छन् ।
नेपाल र भारतबीच रहेका विभिन्न समस्यालाई उल्लेख गर्दै उनले सीमा विवाद, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमामा निर्माण गरिएका एकतर्फी बाँधका कारण नेपाली भूभागमा हुने डुबानजस्ता विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
त्यसैगरी, नेपालले स्वाभाविक रूपमा पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा भइरहेको आनाकानीप्रति पनि उनले ध्यानाकर्षण गराएका छन् ।
घनिष्ठ छिमेकी भारतसँग यस्ता विषयमा खुलस्त छलफल हुनुपर्नेमा जोड दिँदै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध बलियो बनाउन नसकिने बताएका छन् । उनका अनुसार दुई देशबीचका समस्या उठाउनु कुनै देशविशेषको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो ।
हरेक सरकारको दायित्व राष्ट्रिय हितको रक्षा गर्नु रहेको उल्लेख गर्दै उनले यी विषयको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमति निर्माण गरी त्यसका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया