ब्रासिलिया, ९ कात्तिक । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन् । तर, उनले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताएका छन् ।
लुलाको विजयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुलगायत देशमा देखिएको रूढीवादी राजनीतिक लहरलाई चुनौती दिएको छ । फ्लेभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा छन् । जायर सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि विद्रोहको प्रयास गरेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् ।
आइतबार मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयले विवाद उत्पन्न गरेको थियो । नागरिकलाई मतदान गर्नबाट रोकिएको भन्दै बस सेवा सञ्चालनमा अवरोध भएको लुलाको गुनासोपछि समय थपिएको थियो । भारी वर्षाका कारण केही क्षेत्रमा समय थप्न फ्लेभियोले पनि आग्रह गरेका थिए । तर, उनले अदालतको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै निर्वाचन रद्द गर्न माग गर्ने बताए ।
सन् १९८९ यता पहिलो चरणमा पराजित उम्मेदवारले दोस्रो चरणमा जित हासिल गर्न नसकेको इतिहास यसपटक लुलाले बदलेका थिए । पहिलो चरणमा मतदान नगर्ने मतदाताको अनुपात २१ प्रतिशतबाट घटेर १९ प्रतिशतमा झरेको थियो । विजयपछि रियो दि जेनेरियो र साओ पाउलोमा समर्थकहरूले आतसबाजी गर्दै उत्सव मनाएका थिए ।
निर्वाचन अभियानमा सामाजिक सञ्जालको भूमिकालाई लिएर पनि विवाद भएको थियो । लुलाको अभियानले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटामाथि आफ्ना प्रतिस्पर्धीलाई अनुचित समर्थन गरेको आरोप लगाएको थियो । मेटाले आरोप अस्वीकार गरे पनि प्राविधिक त्रुटिका कारण लुलाका केही चुनावी विज्ञापन निष्क्रिय भएको स्वीकार गरेको थियो । लुलाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्नुपर्ने बताएका छन् ।
सन् २००३ मा पहिलोपटक राष्ट्रपति बनेका लुला सन् २००६ मा पुनः निर्वाचित भएका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दामा १८ महिनाभन्दा बढी जेल बसेपछि प्रक्रियागत आधारमा आरोप खारेज भएको थियो । उन िसन् २०२२ मा पुनः राष्ट्रपति बनेका थिए । तेस्रो कार्यकालमा मुद्रास्फीति र बेरोजगारी घट्नुका साथै लाखौँ मानिस भोकमरीबाट बाहिरिए पनि जीवनयापनको बढ्दो खर्च र अपराधले मतदातामा असन्तुष्टि कायम छ ।
पैँतालिस वर्षीय फ्लेभियोले आफूलाई बुबाभन्दा मध्यमार्गी नेताका रूपमा प्रस्तुत गर्दै रूढीवादी र परिवर्तन चाहने मतदाताको समर्थन जुटाएका थिए । नयाँ कार्यकालको अन्त्यमा ८५ वर्ष पुग्ने लुलाले दक्षिणपन्थी प्रभाव रहेको विपक्षी कङ्ग्रेससँग पनि काम गर्नुपर्नेछ ।
अमेरिकाको व्यापारिक र कूटनीतिक दबाबबीच लुलाले राष्ट्रिय सार्वभौमसत्तालाई चुनावी मुद्दा बनाएका थिए । उनले ब्राजिल कसैको आँगन बन्न स्वीकार नगर्ने बताए । विजयपछि चिलीका राष्ट्रपति जोस एन्टोनियो कास्ट, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले उनलाई बधाई दिएका थिए । रासस




प्रतिक्रिया