काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने बताएका छन् । साेमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै थापाले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रका विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई पनि अन्य भूमिकामार्फत सक्रिय बनाइने बताए ।
‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन,’ उनले भने ।
पार्टीका विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन बनाएर राख्ने परिपाटी अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । काम गर्ने इच्छा, क्षमता र योग्यता भएका नेता–कार्यकर्तालाई विधानअनुसार जिम्मेवारी दिइने उनको भनाइ थियो ।
त्यस्तै, पार्टीभित्र पदका आधारमा ठूलो–सानो ठान्ने तथा आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परासमेत परिवर्तन गर्नुपर्ने उनले बताए ।
थापाले पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाबारे अनावश्यक चिन्ता गर्नुभन्दा तत्काल जनतामाझ पुग्नुपर्नेमा जोड दिए । नयाँ समितिले नयाँ सोच र प्रतिबद्धतासहित जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
उनले मंसिर महिनाभित्रै कांग्रेसबाट टाढिएका परिवार तथा मतदाताको घरसम्म पुग्ने अभियान सञ्चालन गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ,’ उनले भने ।
कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने पनि थापाले बताए । पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यताबाट विचलित नभई वर्तमान समयका चुनौती र युवापुस्ताका प्रश्न सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने उनले उल्लेख गरे ।




प्रतिक्रिया