एनपीएलमा साविक विजेता लुम्बिनीको विजयी सुरुआत


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो।

यस जितसँगै लुम्बिनीले एनपीएलको लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित हात पारेको छ। यसअघिका दुई संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेलले १५ तथा ओपनर सैफ जैबले १३ रन जोडे। विनोद भण्डारी नौ, इशान पाण्डे सात, अभिनाश बोहरा तीन, ब्रान्डन म्याकमुलेन दुई र शेरफन रदरफोर्डले एक रन बनाए। आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन खाता नखोल्दै आउट भए।

सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। किशोरले चार ओभरमा २२ रन खर्चेर चार विकेट लिए भने शेरले चार ओभरमा ११ रन दिँदै तीन विकेट हात पारे। तिलक भण्डारी, कप्तान रोहित पौडेल र शाड्ली भान शाल्विकले एक–एक विकेट लिए।

लुम्बिनीको यस प्रदर्शनले गत संस्करणको फाइनल खेलको झल्को दिएको छ। अघिल्लो सिजन पनि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा सीमित गर्दै उपाधि जितेको थियो।

यस खेलसँगै एनपीएलमा पहिलो पटक प्रयोग गरिएको डीआरएस प्रणालीको पनि अभ्यास भएको छ। खेलमा उक्त प्रणालीअन्तर्गत कुल पाँचवटा अपिल गरिएको थियो।

जितपछि लुम्बिनीले दुई अंक जोडेको छ। लुम्बिनीले आफ्नो दोस्रो खेल अक्टोबर ३१ मा चितवन राइनोजसँग खेल्नेछ। यता, पहिलो खेलमा पराजित सुदूरपश्चिमले अक्टोबर २८ मा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।