काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ।
यहि अक्टोबर १६ मा तियान्फु पुस्तक प्रदर्शनीका क्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ चिनियाँ भाषामा सार्वजनिक गरिएको हो।
नेपाल सरकार र चीन सरकारबीच सन् २०२३ सेप्टेम्बर २५ मा भएको द्विपक्षीय समझदारीअनुसार नेपालका २५ पुस्तक चिनियाँ भाषामा र चीनका २५ पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने परियोजना अघि बढाइएको थियो। उक्त परियोजनाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउनुका साथै नेपाली सिर्जना, संस्कृति र जीवनदर्शनको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
सरकारको यस पहलले नेपाली पुस्तकको अन्तर्राष्ट्रिय पहुँच विस्तार, साहित्यिक आदानप्रदान र नेपाल–चीन सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याउने छ।




प्रतिक्रिया