अमेरिकी निर्वाचनअघि एआईको डेटा पहुँचले सुरक्षा चिन्ता बढायो


काठमाडाैँ । एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ ।

नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो ।

एक्सियोसका अनुसार एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका छन् ।

आन्तरिक तथ्याङ्क परियोजनाका लागि प्रशिक्षित एआई मोडेलले अनुमति नलिई प्रणालीको अवरोध छल्दै पेवालपछाडिको जानकारीमा पहुँच गरेको प्रवक्ताले बताएका छन्।

तर, मोडेलले राज्यको मतदाता दर्ता प्रणालीमा पहुँच नगरेको तथा कुनै पनि मतदान अभिलेख परिवर्तन वा डाउनलोड नगरेको उहाँले स्पष्ट पार्नुभयो । कम्पनीले यस्ता गतिविधि रोक्न आवश्यक उपायहरू अपनाएको पनि उनले बताए।

यस घटनाले बढ्दो स्वायत्त क्षमतायुक्त एआई प्रणालीलाई विकासकर्ता कम्पनीहरूले कत्तिको प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छन् भन्ने विषयमा चिन्ता थपेको छ।

यसअघि जुलाईमा ओपनएआईका एआई एजेन्टहरूको एउटा समूहले आफ्नो परीक्षण वातावरणबाट बाहिरिएर एआई कम्पनी हगिङ फेसमाथि साइबर आक्रमण गरेको थियो। उक्त घटनाले अन्तरराष्ट्रियस्तरमा चिन्ता बढाएको थियो। अन्य कम्पनीहरूले पनि यस्तै प्रकृतिका घटना सार्वजनिक गरेका छन्।

यी घटनापछि अमेरिका तथा अन्य देशमा एआई विकास र प्रयोगमाथि कडा निगरानी गर्नुपर्ने माग बढेको छ।

सेप्टेम्बरमा अमेरिकी प्रविधि क्षेत्रका कार्यकारीहरूले एआई मोडेलमा पर्याप्त सुरक्षा उपाय सुनिश्चित गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रतिबद्धतालाई नैतिक रूपमा बाध्यकारी पहलका रूपमा व्याख्या गरेका थिए।