काठमाडौं । भोटेकोसी तथा कालीगण्डकी करिडोरमा विपद्बाट प्रभावित ४९ वटै वडाको क्षतिको यथार्थ विवरण संकलन गरी प्रमाणित रूपमा उपलब्ध गराउन संसदीय विशेष समितिले सरकारलाई निर्देशन दिएको छ।
भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा भएको मानवीय क्षति, बेपत्ता नागरिकको संख्या, कृषि तथा अन्य क्षेत्रमा पुगेको क्षति र राहत वितरणको वास्तविक अवस्थासहितको विवरण उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका हुन्।
बुधबार सिंहदरबारमा आयोजित छलफलमा सभापति पौडेलले समितिको स्थलगत निरीक्षणअघि नै सबै ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण आवश्यक रहेको बताए। उनले सम्बन्धित सरकारी निकायबाट तथ्याङ्क प्रमाणित गरी आधिकारिक हस्ताक्षरसहित उपलब्ध गराउनुपर्नेमा जोड दिए।
क्षतिको यकिन विवरण प्राप्त नभएसम्म प्रभावकारी अध्ययन तथा विश्वसनीय प्रतिवेदन तयार गर्न कठिन हुने उनको भनाइ थियो। प्रमाणित तथ्याङ्कका आधारमा मात्रै समितिले विपद्बाट भएको वास्तविक क्षतिको मूल्याङ्कन गर्दै उपयुक्त निष्कर्ष र सुझाव प्रस्तुत गर्न सक्ने उनले स्पष्ट पारे।
समितिले सरकारी विवरणमा उल्लेख गरिएको राहत वितरणको अवस्था र प्रभावित नागरिकले वास्तविक रूपमा राहत तथा क्षतिपूर्ति प्राप्त गरे–नगरेको विषयलाई समेत स्थलगत निरीक्षणका क्रममा प्राथमिकताका साथ अध्ययन गर्ने जनाएको छ।
सभापति पौडेलले प्रभावित वडाहरूमा मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको संख्या र कृषि लगायतका क्षेत्रमा भएको क्षतिको विवरण छुट्टाछुट्टै रूपमा उपलब्ध गराउन आग्रह गर्दै तथ्याङ्कको विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने बताए।
उनका अनुसार सरकारी निकायले राहत वितरण गरेको विवरण सार्वजनिक गरेकै आधारमा त्यसलाई पूर्ण मान्न नसकिने भएकाले प्रभावित नागरिकबाट प्रत्यक्ष जानकारी लिएर वास्तविक अवस्था पहिचान गरिनेछ।
राष्ट्रिय सभाको जिम्मेवारीअनुसार विपद् प्रभावित नागरिकले भोगेका समस्या, क्षतिको वास्तविक अवस्था र राहत वितरणको प्रभावकारितालाई तथ्य तथा प्रमाणका आधारमा उजागर गर्नु समितिको मुख्य उद्देश्य रहेको पौडेलले बताए।




प्रतिक्रिया