प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै


काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित संसदीय उपसमितिको दोस्रो बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्दै छ।

रास्वपा सांसद मनिष झाको नेतृत्वमा गठित उपसमितिले पोशाक खरिदमा कमसल सामग्री प्रयोग भएको भन्ने उजुरीमाथि अध्ययन गरिरहेको छ। निर्वाचन प्रहरीको पोशाकका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो।

उपसमितिलाई दुई महिनाभित्र प्राप्त उजुरी अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भर्ना भएका कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीको पोशाक खरिद खर्चबारे प्रश्न उठेपछि अध्ययन अघि बढाइएको हो।