सुरु भयो नेपालमा ‘अर्नब’को प्रभाव, आज कहाँ–कहाँ हुनेछ भारी वर्षा ?


काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा बादल लाग्नेछ। विभिन्न प्रदेशका हिमाली, पहाडी र तराई भूभागमा वर्षा तथा हिमपातको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि देशभर अधिकांश बदली रहने र विभिन्न प्रदेशमा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ।