काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाका आधारमा सुरुङ मार्ग प्रयोग गरेबापत दस्तुर उठाउन लागिएको हो।
निर्धारित दरअनुसार हलुका सवारीसाधनदेखि ठूला तथा भारी सवारीसाधनसम्म फरक–फरक शुल्क लाग्नेछ। काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि समेत शुल्क फरक राखिएको छ।
कुन सवारीसाधनलाई कति शुल्क ?
- वर्ग १: कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
- वर्ग २: मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
- वर्ग ३: बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
- वर्ग ४: मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।





प्रतिक्रिया