चक्रवात ‘अर्नब’बाट भारतको आन्ध्र प्रदेशमा पाँचजनाको मृत्यु



काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति पुगेको छ । तेलंगाना राज्य सरकारले पुनःस्थापनाका काममा सहयोग गर्ने जनाएको छ ।

भारत मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान तटीय क्षेत्र पार गरेको चक्रवातको तीव्रता घटेर ‘अति भीषण’बाट ‘भीषण’मा झरेको छ । चक्रवातका कारण आन्ध्र प्रदेशको उत्तरी भाग र ओडिसाको दक्षिणी क्षेत्रमा तीव्र हावाहुरी र वर्षा भएको छ ।

५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आन्ध्र प्रदेश राज्यका मुख्यमन्त्री एन. चन्द्रबाबू नायुडूले मृतकका परिवारलाई जनही पाँच लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । 

क्षतिको मूल्यांकन गर्न केन्द्रीय टोली पठाउन माग गर्दै उनले गृहमन्त्री अमित शाहलाई पत्रसमेत लेखेका छन् ।

मुख्यमन्त्रीका अनुसार ७० हजार ९०० हेक्टरभन्दा बढी धानबाली र १० हजार ४५० हेक्टर बागवानी बालीमा क्षति पुगेको छ ।  करिब १८० घर प्रभावित भएका छन् । उत्तर र मध्य आन्ध्र प्रदेशमा २५ लाखभन्दा बढी विद्युत् जडानमा आपूर्ति अवरुद्ध भएको छ । विशाखापट्टनमका ३८ र विजयवाडाका १७ उडान रद्द गरिएका छन् ।

चक्रवात कमजोर हुँदै गए पनि ओडिसा, छत्तीसगढ, झारखण्ड र पश्चिम बंगालमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । द हिन्दु