वासिङ्टन, १२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने धम्की दिइरहेका बेला उपराष्ट्रपति जे. डी. भान्सले शान्ति वार्ता अघि बढाउने प्रयासमा इरानका प्रभावशाली नेता मोहसेन रेजाईलाई पत्र पठाएका छन् । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार ट्रम्पकै निर्देशनमा पठाइएको पत्रको उद्देश्य दुई देशबीच वार्ताको सम्भावना खोज्नु हो ।
तर, ट्रम्पले भान्सलाई शान्ति वार्ता सुरु गर्न निर्देशन दिएको दाबी अस्वीकार गर्दै उनको सम्पर्क इरानलाई चिकित्सा सामग्री उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताएका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका पूर्वकमाण्डर रेजाईले इरानका आधारभूत माग पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने बताएका थिए । यसअघि भान्सले युद्ध लम्बिने जोखिमप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक समाधानको पक्षमा धारणा राखेका थिए । ट्रम्पले उनलाई प्रमुख वार्ताकार नियुक्त गरेपछि भान्सले सम्झौताको प्रयासमा दुईपटक विदेश यात्रा गरेका थिए ।
हर्मुज जलघाँटी हुँदै समुद्री आवागमन सञ्चालन गर्ने विषयमा मतभेद भएपछि जुनमा भएको समझदारी दुई सातामै भङ्ग भएको थियो । कतार र पाकिस्तानको सहजीकरणमा भएका पछिल्ला वार्ता पनि निष्कर्षमा पुग्न सकेका छैनन् । अमेरिकाले इरानसँग आणविक कार्यक्रममा अग्रिम छुट मागिरहेको छ भने इरानले तत्काल आर्थिक राहत चाहेको छ ।
यसैबीच, ट्रम्पले मध्यावधि चुनावपछि इरानमाथि छोटो र तीव्र सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहनुभएको छ । उनले इरानले सम्झौतामा पुग्ने प्रयास लम्ब्याएको आरोप लगाउँदै आएका छन् । बढ्दो युद्ध र इन्धनको मूल्यले रिपब्लिकन उम्मेदवारलाई चुनावी चुनौती थपिरहेका बेला सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका सम्भावित दाबेदार भान्सले विदेश नीति र घरेलु राजनीतिक जोखिमबीच सन्तुलन मिलाउनुपर्ने भएको छ । रासस




प्रतिक्रिया