जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छः उपनेता पराजुली


काठमाडौँ, १२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र जलवायु सङ्कटबाट प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए ।

उनले विगतका जलवायु सम्मेलनमा गरिएका प्रतिबद्धता र प्राप्त उपलब्धिको वस्तुनिष्ठ समीक्षा गरी स्पष्ट राष्ट्रिय प्राथमिकता, तथ्य तथा प्रमाणमा आधारित माग र ठोस तयारीसहित नेपालको सहभागिता प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

“अब नेपालले सम्मेलनमा कुन विषय उठान गर्‍यो भन्ने मात्र होइन, के ठोस उपलब्धि हासिल गर्‍यो र त्यसले हाम्रो भूमि, जनजीवन तथा प्रभावित नागरिकको जीवनमा के सकारात्मक परिवर्तन ल्यायो भन्ने प्रश्न नै हाम्रो तयारीको केन्द्रमा रहनुपर्छ,” पराजुलीले भने ।

सांसद पराजुलीले हिमालमा जलवायु परिवर्तनका प्रभाव, विपद्को जोखिम न्यूनीकरण, अत्याधुनिक पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायु अनुकूलन क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

जलवायु सङ्कटसँग जुध्न नेपाललाई बाह्य सहयोगसँगै आफ्नै आर्थिक सामथ्र्य अभिवृद्धि गर्ने अवसर पनि आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाली उत्पादनको क्षेत्रीय तथा अन्तरराष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए । भन्सार तथा गैरभन्सार अवरोध हटाउन र गुणस्तर प्रमाणीकरणका लागि प्राविधिक सहयोग जुटाउन कोप सम्मेलन तथा द्विपक्षीय बैठकको अधिकतम उपयोग गर्नुपर्ने उनले सुझाव दिए ।

पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति क्षति र जोखिमको विवरणमा मात्र सीमित नभई जलवायु न्याय, आर्थिक अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहित हुनुपर्ने बताए । यसले हिमालको सुरक्षा, नागरिकको जीवनरक्षा तथा नेपालको आर्थिक सामथ्र्य अभिवृद्धिमा ठोस योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।