काठमाडौँ । बैंकिङ समूहका कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३१.५४ अंक (१.१८ प्रतिशत) ले बढेर २६९५.६० विन्दुमा पुगी बन्द भएको छ।
साताको चौथो दिन कारोबार सुरु भएलगत्तै हरियो बनेको परिसूचकमा केही उतारचढाव देखिए पनि दिनभर नै बजारमा सुधारको क्रम जारी रह्यो। यसअघि बुधबार पनि नेप्से परिसूचक ३३.३९ अंकले बढेको थियो।
बिहीबार सबै उपसमूहका परिसूचक बढेर बन्द भएका छन्। जसमध्ये ‘अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै २.४५ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समूहको परिसूचक २.२८ प्रतिशत र होटल तथा पर्यटन समूहको २.०५ प्रतिशतले बढेको छ।
बजारमा समग्र उत्साह देखिँदा बिहीबार कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। छ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
यस दिन कुल ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन गत मार्च १६ यताकै उच्च कारोबार हो। दिनभरमा ६९ हजार ६१९ पटकको कारोबारबाट कुल २ करोड ३२ लाख ५० हजार कित्ता सेयर किनबेच भएका छन्।
कम्पनीगत आधारमा बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्; सो कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यस्तै, सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत र नेपाल पुनर्बिमा कम्पनीको ५.६१ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।
उता, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्यमा सबैभन्दा धेरै ३.६५ प्रतिशतको गिरावट आएको छ। त्यस्तै, लिबर्टी इनर्जी कम्पनीको ३.२० प्रतिशत र चिर्खुवाखोला हाइड्रोपावरको ३.१४ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३५ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सिद्धार्थ बैंकको २५ करोड ३८ लाख ३० हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।




प्रतिक्रिया