काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आगामी दशकलाई सामाजिक रूपान्तरणको दशकका रूपमा अघि बढाउन पार्टीले विशेष प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।
पार्टी मुख्यालय सानेपामा आयोजित १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै उनले विद्यमान सामाजिक विकृति र विभेद अन्त्यलाई मूल केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
समारोहमा उपसभापति शर्माले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई परिणाममुखी काममा ध्यान दिन आग्रह गरे। पार्टी केन्द्रको स्पष्ट नीति र सभापतिको कार्ययोजनाअनुसार जिम्मेवार भएर काम गरे मात्रै जनतामा सकारात्मक सन्देश जाने उनको भनाइ थियो।
यसैगरी, डिजिटल युगमा सामाजिक सञ्जालको भूमिकाबारे चर्चा गर्दै शर्माले गलत सूचनाको भ्रामक प्रचारलाई विधिसम्मत प्रक्रियाबाट खण्डन गर्नुपर्ने बताए। सामाजिक सञ्जाललाई द्वेष फैलाउने नभई समाज रूपान्तरण र चेतना अभिवृद्धिको सशक्त माध्यम बनाउनुपर्नेमा उनले जोड दिए।
पार्टी हितभन्दा माथि उठेर राष्ट्रलाई सर्वोपरि राख्नुपर्ने उल्लेख गर्दै उनले जलवायु परिवर्तनका गम्भीर असर न्यूनीकरण, हिमाल संरक्षण तथा विदेशमा रहेका नेपालीहरूको भावना र समस्या सम्बोधन गर्न कांग्रेस सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।




प्रतिक्रिया