तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट


सुनसरी, १३ कात्तिक। तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।

विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाएका छन्।

गत वर्ष काठमाडौँबाट ल्याइएको बिरुवा अग्लो हुने र फूल कम फुल्ने समस्या देखिएकाले यसपटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरिएको उनले बताए । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ।

गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेको तर वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए। थोरै फूलमात्रै जोगिए पनि बजारमा मूल्य राम्रो पाएकाले तिहारमा करिब रु दुई लाखभन्दा बढीको फूल बिक्री गरेको उनले जानकारी दिए।

‘यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ । तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता छ’, विष्टले भने।

यसपटक तिहार केही ढिला भएकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उनको अनुमान छ । यस वर्ष फूल प्रतिकिलो ४०० देखि ५०० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आउनुभएको छ । बराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दा फूल किन्न खेतमै आउने गरेका छन् । खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो रु २० सम्म सस्तो मूल्यमा बिक्री गर्ने गरेको उनले बताए। धरान र इटहरीबाट समेत ग्राहक फूल खरिद गर्न खेतमा आउने गरेको उनको भनाइ छ ।

भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने विष्टको भनाइ छ । भारतमा उत्पादन भएका फूल नेपालका दमक, धरान र विराटनगरलगायतका स्थानमा रहेका शीतभण्डारमा करिब १५ दिन अगाडिदेखि नै ल्याएर भण्डारण गरी राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएकाले आयातित फूल बजारमा आउँदा स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उनको भनाइ छ ।

आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने विष्टको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सृजना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए।