राज्यका संवेदनशील अंगमा देखिएका विकृति अन्त्य नगरी सुशासन र समृद्धि सम्भव छैन : डा. भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगमा देखिएका विकृति र विसंगति अन्त्य नगरी सुशासन र समृद्धि सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकताको विवादमा तानिनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन्।

उनले लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कानुनभन्दा माथि हुन नसक्ने बताउँदै राज्यका अंगमा मौलाएका विकृति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

सबैलाई एकैसाथ निशाना बनाउँदा दोषीमाथि कारबाही नहुने अवस्था आउन सक्नेतर्फ संकेत गर्दै भट्टराईले लेखेका छन्, “सबै चरामाथि एकैसाथ निसाना साध्दा कुनै पनि चरा नमर्ने खतरा हुन्छ।”

उनले सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्ने बताएका छन्।