नयाँ केन्द्रीय कार्यसमिति अध्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आवश्यक कागजात तयार भइरहेको र सम्भव भएसम्म आजै आयोगमा निवेदन दिइनेछ।

बिहीबार सानेपामा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नयाँ कार्यसमितिको विवरण अध्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिवलाई दिएको थियो।

१५औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन्।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएपछि निर्वाचित नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अध्यावधिक गर्नुपर्ने हुन्छ।