कर्मचारीमाथि धरपकड गर्नु आपत्तिजनक : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले कर्मचारीमाथि कुनै आरोप वा गल्ती भए पनि स्थापित कानुनी प्रक्रियाअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र अर्को योजनासँग सम्बन्धित कर्मचारीलाई नियन्त्रणमा लिएर दबाब दिइएको घटनालाई आपत्तिजनक भनेका हुन्।

‘सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र अर्को योजनाका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको र दबाब दिएको घटना बाहिर आएको छ,’ उनले भने, ‘यो अत्यन्तै आपत्तिजनक विषय हो।’

कर्मचारीले नियमविपरीत काम गरेको भए छानबिनका लागि मुलुकमा स्थापित कानुनी निकायहरू रहेको स्मरण गराउँदै उनले राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत अनुसन्धान हुनुपर्ने बताए।

‘एउटा कर्मचारीले नियमविपरीत काम गरेमा त्यसबारे अध्ययन तथा छानबिन गर्ने राष्ट्रिय सतर्कता केन्द्र छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। ती निकायलाई छलेर हुकुमी शैली चलाउन मिल्दैन,’ थापाले भने।

राज्यका आधिकारिक संयन्त्रलाई पन्छाएर कर्मचारीलाई नियन्त्रणमा लिने र दबाब सिर्जना गर्ने शैली लोकतान्त्रिक शासन व्यवस्थाअनुकूल नहुने उनको भनाइ थियो।

‘कर्मचारीले कुनै गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन,’ उनले भने, ‘सरोकारवाला आधिकारिक निकायबाट विधिसम्मत अनुसन्धान अगाडि बढाउने हो। अनुसन्धानबाट यदि गल्ती गरेको ठहरिए कानुनबमोजिम कारबाही गर्ने हो।’