नारायणगढ (चितवन), १५ कात्तिक । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन् ।
नयाँ जातको धान लगाउँदा उत्पादनमा कमी आएपछि वर्षभरि खाने अन्न जुटाउनसमेत समस्या हुने चिन्ता थपिएको हो । धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि शाखा पुग्ने गरेका छन् ।
माडी नगरपालिका(७, ६, ५ लगायत क्षेत्रका स्थानीयद्वारा एग्रोभेटबाट बीउ किनेर लगाएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएको हो । धानमा विभिन्न रोग देखिनुका साथै बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी टाटला मात्रै रहने समस्या देखिएपछि किसानले अपेक्षित उत्पादन लिन सकेका छैनन् ।
माडी नगरपालिका कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा ९ब्लास्ट० र खैरो थोप्ले रोग देखिएको थियो । रोग नियन्त्रणका लागि कृषि शाखा तथा स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरे पनि समस्या नियन्त्रण हुन नसकेको कृषि शाखा प्रमुख सुरेश सिँखडाले बताए ।
उनका अनुसार पछि धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने तथा दाना नलाग्ने समस्या देखिएको हो । किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक मात्रामा देखिएको उनले जानकारी दिए ।
कृषि शाखा प्रमुख सिँखडाले भने, “नगरको कृषि शाखामा धानमा समस्या आएको गुनासो प्राप्त भएपछि कृषकको धानबारीमा स्थलगत अनुगमन गर्दा सो जातको बालीमा बाला नलागेको तथा बाला लागेको बारीमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोगको सङ्क्रमण देखिएको थियो । अहिले पाक्ने बेलामा दाना नलाग्ने समस्या देखियो । नगरपालिकामा आएर समस्या समाधान गरिदिन आग्रह गर्दै किसानहरू आउनुहुन्छ ।”
स्थानीय एग्रोभेटसँग कुराकानी गर्दा माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार किलो बीउ बिक्रीवितरण भएको र करिब १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको पाइएको कृषि शाखाले जनाएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणअनुसार उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ ।
असार १५ देखि असार मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको कृषि शाखा प्रमुख सिँखडाले बताए । उक्त धान लगाएका अधिकांश किसानको खेतमा समान प्रकृतिको समस्या देखिएकाले बीउमै कैफियत हुन सक्ने आशङ्का गरिएको उनको भनाइ छ ।
उनका अनुसार समस्याबारे कृषि शाखाले कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराएको छ । केन्द्रबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत भएको छ । अहिले कृषि शाखाले किसानबाट क्षतिको विवरण सङ्कलन गरिरहेको छ भने बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिँखडाले बताए ।
नयाँ जातको धान लगाउँदा घाटा
माडी–७ कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए । यस वर्ष भने नयाँ जातको धान लगाउँदा उहाँको खेतमा बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने भन्दै उनले बीउ किनेर रोपेका थिए ।
रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उनले रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गरे । तर, धान काट्ने बेला हुँदासम्म खेतमा बोट र खोक्रा बाला मात्रै देखिए । वर्षभरि खान पुग्ने धान उत्पादन हुने अपेक्षामा खेती गरेका उनी अहिले उत्पादन नहुँदा चिन्तित छन् ।
“अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो । धान काट्दा टाटला (खोक्रा बाला) मात्रै भए, दाना केही भएन”, भण्डारीले भने । उनले समस्या बीउमै भएको दाबी गरे । आफूले लगाएको धानसँगै आसपासका खेतमा सोही जातको धान लगाएका किसानले पनि उस्तै समस्या भोग्नुपरेका उनको भनाइ छ । रोपेपछि धानको बोट मर्ने, बाँकी रहेका बोटमा बाला सेतो हुने र दाना नलाग्ने समस्या देखिएको उनले बताए ।
परम्परागत रूपमा लगाउँदै आएको सावित्री, गोरखनाथलगायत धानमा यसअघि यस्तो समस्या नदेखिएको भन्दै भण्डारीले दुःख व्यक्त गरे । नयाँ जातको धान लगाउने निर्णयले यस वर्षको खेती खेर गएको उनको भनाइ छ । उनले कृषि कार्यालय र बीउ बिक्रेतासँग समस्याबारे जानकारी गराइसकेका छन् ।
माडी–६ कल्याणपुरकी सावित्री चापागाईंको पीडा पनि उस्तै छ । विदेशमा रहेका श्रीमान्लाई स्वदेशमै फर्केर आफ्नै माटोमा केही गर्न सकियोस् भन्ने उद्देश्यले उनले यस वर्ष आफ्नै खेतमा धानखेती गरेका थिए । पहिले अरूलाई ठेक्कामा दिने गरेको जग्गामा आफैँ खेती गर्दा परिवारका लागि अन्न जुटाउने र आम्दानी गर्ने उनको अपेक्षा थियो । तर, धानको अवस्थाले उनलाई निराश बनाएको छ ।
“धान रोपेपछि रातो भयो । पछि बोट मरेर बाला नलाग्ने र पोटा मात्रै आयो । यस्तो समस्या आजसम्म भएको थिएन । न धान भयो, न पराल”, चापागाईंले भने । करिब १६ कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाट दुई(चार बोरामात्रै उत्पादन भएको जनाउँदै उनले यो पनि खानयोग्य अवस्थामा नरहेको बताए । सामान्य अवस्थामा उक्त खेतबाट राम्रो उत्पादन हुने अपेक्षा गरे पनि यस वर्ष लगानी र मेहनत खेर गएको उनको भनाइ छ ।
नयाँ जातको धान लगाउने भनेर आसपासका धेरै किसानले बीउ किनेको र उनीहरूको खेतमा पनि उस्तै समस्या देखिएको चापागाईंले बताए । नयाँ बीउ पर्याप्त नभएका ठाउँमा लगाइएको केही धानमा भने सामान्य उत्पादन भएको देखिएकाले बीउकै गुणस्तरमा समस्या भएको हुन सक्ने उनको आशङ्का छ ।
यस घटनाले उनलाई नयाँ बीउ छनोट गर्दा थप सचेत हुनुपर्ने पाठ सिकाएको छ । अबदेखि बीउ कम्पनीको प्रचार वा एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक र कृषि कार्यालयको सल्लाह लिएर खेती गर्ने उनले बताए ।
अनुसन्धानपछि क्षतिको यकिन गरिने
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताए । किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त जानकारीका आधारमा समस्याको अनुसन्धान गरी बीउ कम्पनीबारे बुझ्ने काम भइरहेको उनले बताए ।
बीउ बिक्री गर्ने एग्रोभेटले कहाँबाट बीउ ल्याएको हो भन्ने विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ । किसानले बीउ खरिद गर्दा त्यसको स्रोत, गुणस्तर र उपयुक्तताबारे ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक तथा सम्बन्धित कृषि कार्यालयसँग परामर्श गरेर खेती गर्न सुझाव दिए ।
धानमा देखिएको समस्या रोगका कारण मात्रै हो वा बीउको गुणस्तरमा समेत कैफियत छ भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने उनले बताए । प्रभावित किसानले व्यहोरेको क्षतिको विवरण सङ्कलन र बीउको गुणस्तर परीक्षणबाट मात्रै समस्याको वास्तविक कारण तथा क्षतिको परिमाण यकिन हुनेछ ।




प्रतिक्रिया