काठमाडौं । सिन्धुलीमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
प्रहरीका अनुसार, सिन्धुलीको फिक्कल गाउँपालिका–६, तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार करिब १७:२५ बजे घुर्मीदेखि खाङसाङतर्फ आउँदै गरेको मधेस प्रदेश ०१-००१ ख ०६४७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । टिपरमा चालकसहित चारजना सवार रहेका प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूलाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा पठाइएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७, टक्सारका २९ वर्षीय टिपर चालक महेश कटेल र सिन्धुली, फिक्कल गाउँपालिका–५ का २९ वर्षीय माधव लुइँटेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका–१४, बोटेनीका २६ वर्षीय दीपक जोशी र सिन्धुलीको दुधौली नगरपालिका-१४ का २८ वर्षीय हरि बानियाँ घाइते भएका छन् ।




प्रतिक्रिया