काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बङ्गलादेशी नागरिकहरू मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी र अकम अब्ल्लाह रहेका छन्। त्यस्तै, बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा पनि पक्राउ परेका छन्।
प्रहरी टोलीले रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी फेला पारेको थियो। सोही क्रममा ठूलो रकमको आर्थिक कारोबार भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको छ।
यसैबीच, पक्राउ परेका जाहिंगिर आलमविरुद्ध एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पाँचै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागको जिम्मा लगाएको छ।




प्रतिक्रिया