शरद रेग्मी, दाङ । नयाँ पुस्ताले अपनाउन छाडेपछि गन्धर्व समुदायको पुर्ख्यौली पेसा सारङ्गी बजाउने परम्परा संकटमा पर्दै गएको छ। पुस्तौँदेखि सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएको समुदायमा अहिले यो पेसालाई निरन्तरता दिने पुस्ताको अभाव देखिन थालेको छ।
तुलसीपुर उपमहानगरपालिका–४, रक्षाचौरका शिवबहादुर गन्धर्वले १० वर्षको उमेरदेखि सारङ्गी बजाउन थालेका हुन्। सारङ्गी बजाउँदै जीवन बिताएको उनको ५२ वर्ष भइसकेको छ। अहिले पनि उनी बिहानै तुलसीपुर बजार आसपासका बस्तीमा पुगेर सारङ्गी बजाउँदै आफ्नो जीविकोपार्जन गर्छन्।
बाउबाजेको पालादेखि अँगाल्दै आएको यही पेसा शिवबहादुरको जीवन धान्ने मुख्य आधार बनेको छ। तर, समयसँगै नयाँ पुस्ताको रुचि अन्य पेसातर्फ बढ्दै जाँदा सारङ्गी बजाउने परम्परा ओझेलमा पर्दै गएको छ। आफ्ना छोराछोरीले समेत यो पेसालाई निरन्तरता नदिने भएपछि उनी आफ्नो सीप र परम्परा हराउने चिन्तामा छन्।
“बाउबाजेले गर्दै आएको पेसा नयाँ पुस्ताले अपनाउन छाड्यो, अब हाम्रो बिटो थाम्ने कोही भएन,” शिवबहादुर दुःख व्यक्त गर्छन्।
तुलसीपुर ४ रक्षाचौरमा मात्रै ५२ घरधुरि रहेको गन्धर्व समुदायको सांस्कृतिक पहिचान र नेपाली मौलिक संगीतसँग जोडिएको सारङ्गी बजाउने परम्परा संरक्षण गर्नु अहिले चुनौती बनेको छ। यो पेसालाई जीवित राख्न नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रम आवश्यक देखिन्छ।
स्थानीय सरकारले सारङ्गी बजाउने सीपको संरक्षण, पुस्तान्तरण, सीपमूलक तालिम र पेसा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके गन्धर्व समुदायको परम्परागत सीप जोगाउनुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ।




प्रतिक्रिया