झापा, १७ कात्तिक । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुनेकी छिन् ।
सोमबार र आज उनले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गरिन् । आज बुद्धशान्ति गाउँपालिका–४ को सुकुम्बासी बस्तीमा पुगेकी मन्त्री रावलले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताइन् ।
उनले बुद्धशान्ति गाउँपालिकाका सुकुम्बासीलाई आगामी दुई महिनाभित्र लालपुर्जा वितरण गर्ने आश्वासन दिइन् । स्थानीयले मन्त्रीसमक्ष लामो समयदेखि लालपुर्जा पाउन नसकेको गुनासो राखेका थिए ।
झापा निर्वाचन क्षेत्र नं १ का सांसद रमेश प्रसाईँले जिल्लामा सुकुम्बासी समस्या समाधानको काम अपेक्षाकृत हुन नसकेकाले मन्त्री स्वयं स्थलगत भ्रमणमा आउनुपरेको बताए । उनले मन्त्रीको भ्रमणले वर्षौंदेखि लालपुर्जा पाउन नसकेका नागरिकमा जग्गाको स्वामित्व प्राप्त गर्ने आशा जागेको उल्लेख गरे ।
सोमबार झापा पुगेलगत्तै मन्त्री रावलले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी सुकुम्बासी समस्या समाधानका लागि तीव्र गतिमा परिणाममुखी काम गर्न निर्देशन दिएकी थिइन् ।




प्रतिक्रिया