अमेरिकादेखि नेपालसम्म चासोः नर्स ममता काफ्लेले कहिले पाउलिन् न्याय ?


अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट बेपत्ता भएकी २८ वर्षीया दर्तावाल नर्स ममता काफ्ले भट्ट प्रकरणले यतिबेला अमेरिकी गैरआवासीय नेपाली समुदाय मात्र होइन, अन्तर्राष्ट्रिय मिडिया र अमेरिकी कानुन व्यवसायीहरूको समेत ध्यान तानेको छ। ममताका श्रीमान् पूर्व अमेरिकी सैनिक नरेश भट्टले अदालतमा दिएका पछिल्ला बयान र प्रहरी अनुसन्धानबाट बाहिरिएका तथ्यहरूले घटनालाई झन् जटिल र रहस्यमय बनाएका छन्।

जुलाई २०२४ को अन्तिम साता ममता आफ्नो कार्यस्थलमा अन्तिमपटक देखिएकी थिइन्। उनी काममा नआएपछि सहकर्मीहरूले चासो व्यक्त गरेका थिए। तर श्रीमान् नरेशले तुरुन्त प्रहरीलाई खबर गर्नुको सट्टा अगस्ट ५ मा मात्र बेपत्ता भएको रिपोर्ट दर्ता गराए। प्रारम्भिक सोधपुछमा उनले ममता न्युयोर्क वा टेक्सस गएको दाबी गर्दै प्रहरी अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास गरेका थिए। त्यतिबेला उनीहरुको छोरी झण्डै एक वर्ष पुगेकी थिइन्, जसलाई छाडेर आमा ममता अचानक हराउनु आफैँमा अस्वाभाविक थियो।

प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा प्रकरणका डरलाग्दा पाटाहरू खुल्दै गए। डिजिटल फरेन्सिक टोलीले नरेशको इन्टरनेट सर्च हिस्ट्री खोतल्दा उनले “श्रीमतीको मृत्युपछि कति चाँडो अर्को विवाह गर्न सकिन्छ?” भनी खोजेको तथ्य फेला पारेको छ। त्यस्तै, श्रीमती बेपत्ता भएमा के हुन्छ ? र, श्रीमती हराएमा के सम्बन्धविच्छेद गर्न सकिन्छ ? मासु काट्ने औजार/मेसिन, चक्कु तिखार्ने साधन र हातले काट्ने आरा, औषधि मेलाटोनिनको मात्रा वा डोजिङसम्बन्धी खोजी र डुलेस, भर्जिनियाबाट दिल्लीसम्मको यात्रा विवरण र कारम्याक्स (CarMax) मा गाडी बिक्री सम्बन्धी खोजीहरू नरेशले गरेका थिए ।

यसबाहेक, उनको घरको बेडरुम र बाथरुममा ठूलो मात्रामा रगतको दाग भेटिएको थियो । घटनास्थल र फरेन्सिक जाँचका क्रममा विद्युतीय आरामा समेत रगतको अंश र कपालका रौँ पाइएको छ।

घटना आसपासको समयमा नरेशले ठूला प्लास्टिकका झोला ठाउँ–ठाउँमा लगेर फोहोर फाल्ने ठाउँमा फालेको, सफाइका कडा रसायन र विद्युतीय आरा (छुरा/काट्ने औजार) खरिद गरेको सीसीटीभी फुटेज तथा सामान खरिदका बिलहरू प्रहरीले प्रमाणका रूपमा प्रस्तुत गरेको छ। प्रहरीले घरभित्रै हत्या गरी शव टुक्रा-टुक्रा पारेर लुकाइएको दाबी गरे पनि अहिलेसम्म ममताको शव भने फेला पर्न सकेको छैन।

अगस्ट २२, २०२४ मा पक्राउ परेका नरेशमाथि प्रथम श्रेणीको हत्या (First Degree Murder), शव लुकाउने र क्षतविक्षत पार्ने गम्भीर अभियोग लगाइएको छ।

अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएका नरेशले भने आफू निर्दोष रहेको दाबी गरिरहेका छन्। तर उनको बयान यो समाचार तयार पार्दासम्म सकिएको छैन, जारी छ ।

शव फेला नपरे पनि सङ्कलित डिजिटल, भौतिक र फरेन्सिक प्रमाणहरूका आधारमा अदालतमा मुद्दा अगाडि बढिरहेको छ ।नरेशको बचाउको तर्क र प्रहरीको प्रमाणमा आधारित दाबीबीचको कानुनी लडाइँ अघि बढिरहेको छ र यतिबेला ममताले न्याय पाउँछिन् कि पाउँदिनन् भन्नेमा आम चासो चुलिएको छ।