तिहारको पूर्वसन्ध्यामा धमलाको प्रश्न- बाढीपीडित र सुकुम्बासीले कसरी मनाउने चाड ?


काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले उज्यालोको पर्व तिहार नजिकिए पनि बाढीपीडित र सुकुम्बासीहरूका लागि भने चाडपर्वले खुसी ल्याउन नसकेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले बजारमा व्यापक रूपमा बढेको महँगी र ब्रह्मलुट नियन्त्रण गर्न सरकारका नियामक निकायहरूसँग जोडदार माग गरे।

‘उज्यालोको चाड तिहार आएको छ, तर देशका बाढीपीडित र सुकुम्बासीहरूले कसरी तिहार मनाउने ?’ उनले प्रश्न गर्दै भने, ‘अहिले बजारमा महँगी र ब्रह्मलुट व्यापक बढेको छ। सरकारका नियामक निकायहरूले तत्काल अनुगमन गरी महँगी नियन्त्रण गर्नुपर्छ।’

जनताको प्रमुख चाहना विकास, समृद्धि र सुशासन भएको उल्लेख गर्दै धमलाले भ्रष्टाचारीहरूमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिए। वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले अहिलेको अवस्थामा बालेन सरकारको विकल्प खोज्नुभन्दा पनि विकास र सुशासनका लागि वातावरण बनाउनुपर्ने बताए।

‘अहिले विपक्षीहरू सडक आन्दोलनमा जानु उपयुक्त हुँदैन। यही सरकारले विकास र सुशासन दिने हो,’ धमलाले भने, ‘प्रधानमन्त्री बालेन शाहले पनि संवाद, सहमति र सहकार्यको माध्यमबाट निकास दिन पहल गर्नुपर्छ।’

धमलाले इनम प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे। ‘कांग्रेस सभापति गगन थापालाई सरकारले अहिल्यै थुन्ने कुनै योजना बनाएजस्तो मलाई लाग्दैन। तर, इनम प्रकरणमा सरकारले निष्पक्ष र पारदर्शी छानबिन गर्नैपर्छ,’ धमलाले भने।

यसैगरी, भारतीय विदेश सचिव विक्रम मिस्रीको हालै भएको नेपाल भ्रमण सफल भएको दाबी गर्दै उनले अब हुने प्रधानमन्त्री बालेनको भारत भ्रमणले दुई देशको सम्बन्ध थप सुमधुर बनाउने विश्वास व्यक्त गरे।

‘विदेश सचिव मिस्रीको भ्रमणबाट भारत सरकार नेपाललाई सहयोग गर्न तयार रहेको प्रस्ट भएको छ,’ धमलाले भने, ‘अब हुने प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बाढीपीडित क्षेत्रको पुनःस्थापना र नेपालमा ठूला लगानीकर्ता भित्र्याउने वातावरण बनाउन पहल हुनुपर्छ।’