काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका टंकराज न्यौपानेले जग्गा हडपेको र परिवारका सदस्यबाट धम्की आएको आरोप लगाएका छन् । उनले जग्गा विवादमा मुछिएका डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न नहुने मागसमेत गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा आफ्नो भनाइ राख्दै न्यौपानेले डाँगीले आफ्नो जग्गा गैरकानुनी रूपमा कब्जा गरेको दाबी गरे । ‘मेरो जग्गा खानेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन मिल्दैन,’ उनले समितिमा भने ।
न्यौपानेका अनुसार साधारण निवेदनका आधारमा आफन्तहरूको नामसमेत समावेश गरेर जग्गा अधिग्रहण गरिएको थियो । तर, अधिग्रहण गरिएको भनिएको जग्गा नगर विकास समितिलाई हस्तान्तरण नगरेको र आफूहरूलाई पनि फिर्ता नगरी बिक्री गरिएको उनको आरोप छ ।
उक्त जग्गा विवादमा आफूले न्यायिक निकायबाट समेत न्याय नपाएको उनले गुनासो गरे । सुरुमा कपिलवस्तु जिल्ला अदालतले वादी र प्रतिवादीको कुरा नसुनी दाबी नपुग्ने फैसला गरेको र त्यसपछि उच्च अदालत तुलसीपुरले पनि जिल्ला अदालतकै निर्णय सदर गरेको उनले बताए ।
हाल उक्त जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको न्यौपानेले समितिलाई जानकारी गराए ।
यसैगरी, उनले प्रस्तावित न्यायाधीश डाँगीका परिवारका सदस्यबाट आफूलाई धम्की आएको आरोपसमेत लगाए । विवाद मिलापत्रका लागि गएको समयमा डाँगीका दाजु दिनेश डाँगीले आफूलाई जेल हाल्ने धम्की दिएको न्यौपानेको भनाइ छ ।
‘मेरो भाइ सर्वोच्च अदालतमा गइसकेको छ, अब तँलाई जेल हाल्छु’ भन्दै धम्की दिएको उनले समितिसमक्ष बताए ।




प्रतिक्रिया