अन्तर्राष्ट्रिय बजारको प्रभावः सुनचाँदीको मूल्यमा भारी गिरावट


काठमाडौँ । तिहारको संघारमा परेको धनतेरसका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। विगत केही समयदेखि लगातार उकालो लागिरहेको बहुमूल्य धातुको मूल्य धनतेरसकै दिन ह्वात्तै घटेपछि गहना तथा सुनका सिक्का खरिद गर्ने उपभोक्तालाई ठूलो राहत मिलेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घटेको छ। गिरावटसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि ओरालो यात्रा कायम रहेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य मानिएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,०४२.५१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५१.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

धनतेरसका दिन सुन, चाँदी, तामाका भाँडाकुडा तथा बहुमूल्य धातु खरिद गर्नुलाई शुभ मानिने धार्मिक परम्परा छ। चाडपर्वको समयमा बहुमूल्य धातुको मूल्यमा आएको यो गिरावटले बजारमा खरिदकर्ताको चहलपहल र बिक्री बढाउन सहयोग पुग्ने व्यवसायीहरूको अपेक्षा छ।