जोखिमयुक्त क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु हुँदैन : महानिर्देशक जैसी


२० कात्तिक, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम भएका क्षेत्रमा जथाभावी बेलिब्रिज निर्माण गर्दा ठूलो क्षति निम्तिन सक्ने बताएका छन् । उनले बेलिब्रिज राख्ने निर्णय गर्नुअघि भौगोलिक अवस्था, प्राविधिक पक्ष र सम्भावित जोखिमको गम्भीर मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धमा गठित संसदीय विशेष समितिको आजको बैठकमा बोल्दै जैसीले बेलिब्रिज निर्माणमा हतार गर्न नहुने बताएका हुन् ।

उनका अनुसार कतिपय स्थानमा नयाँ बेलिब्रिज निर्माण गर्नुभन्दा पहिलेदेखि रहेका पुलको एप्रोच सडक सुधार गर्नु दीर्घकालीन र सुरक्षित विकल्प हुन सक्छ । ‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ,’ उनले भने ।

महानिर्देशक जैसीले बेलिब्रिज निर्माणका लागि बलियो जग आवश्यक पर्ने र त्यसको सुरक्षामा विशेष प्राविधिक सतर्कता अपनाउनुपर्ने बताए । पर्याप्त आधार र सुरक्षा व्यवस्था नहुँदा अस्थायी पुलसमेत बाढीको जोखिममा पर्ने उनको भनाइ छ ।

रसुवागढी नाकाको उदाहरण दिँदै उनले बेलिब्रिज निर्माणमा ठूलो लगानी र लामो समय खर्च हुने उल्लेख गरे । वर्षायाम सुरु हुनुअघि यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यताले थप आर्थिक भार र प्राविधिक चुनौती सिर्जना गर्ने उनले बताए ।

विभागले बजेट सुनिश्चित नभएको तथा कतिपय अवस्थामा नियमगत जटिलता हुँदाहुँदै पनि आपत्कालीन अवस्थामा काम गरिरहेको जैसीले जानकारी दिए ।

‘हामीले मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरेका हौँ । तर अहिले बेलिब्रिज राख्ने निर्णय गर्दा आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी लिनुपर्ने हुन्छ,’ उनले भने ।