पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार


वासिङ्टन, २० कात्तिक । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारेका छन् ।

द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे । यसअघि ब्लुमबर्ग न्युजले उनले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका रुबियो सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन् । तर उनले आफ्नो राजनीतिक भविष्यबारे टिप्पणी गर्न अस्वीकार गर्दै सन् २०२८ को विषयमा अहिले कुरा नगर्ने बताए ।

अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारको खण्डन गरेको छ । मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्णतः काल्पनिक भनेका छन् । रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को समाचारलाई पनि उनले आधारहीन बताएका छन् ।

मध्यावधि निर्वाचनअघि रुबियो ट्रम्पसँग चुनावी अभियानमा सहभागी भएका थिए । उनले चुनावी सभामा उत्साहित समर्थकलाई सम्बोधनसमेत गरेका थिए । रुबियोले यसअघि आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताएका थिए । भान्सलाई पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । रासस