आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै जेनजी पुग्यो जिल्ला प्रशासन कार्यालय 


काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नेपाली नागरिकतासम्बन्धी विषयमा छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ।

अभियानले शुक्रबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेसमक्ष ज्ञापनपत्र बुझाउँदै डोल्माले वंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

अभियानले डोल्माको नागरिकतासम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै नागरिकता प्राप्त गर्दाका विवरण तथा कागजातको खोजतलास गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।

ज्ञापनपत्रमा आनी छोइङ डोल्माले आफ्ना बुवाआमा तिब्बतको खाम क्षेत्रबाट आएको भनी सार्वजनिक अभिव्यक्ति दिएको तथा आफ्नो पुस्तक ‘फूलको आँखामा’ समेत उल्लेख गरेको जनाएको छ । त्यस्तै, २०४६ सालमा छोइङ डोल्मा मोक्तान लामाको नामबाट वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको विवरण सार्वजनिक भएको भन्दै अभियानले छानबिनको माग गरेको हो।

ज्ञापनपत्रमा साविक चपली भद्रकाली गाविस–६ (हाल बूढानीलकण्ठ नगरपालिका–२) का कान्छाबहादुर लामाको छोरीका रूपमा नागरिकता जारी भएको विवरण उल्लेख गरिएको छ। कान्छाबहादुर लामाको २०३९ सालमा निधन भएको र उनका वास्तविक छोरा प्रमानसिंह लामा (मगई) ले २०७६ पुसमा यस विषयमा छानबिनका लागि निवेदन दिएको दाबीसमेत अभियानले गरेको छ।

‘निज व्यक्ति आनी छोइङ डोल्मा मोक्तान लामाको राष्ट्रियता तथा वंशजका आधारमा नेपाली नागरिकता प्राप्तिको विषयमा हामीलाई शंका छ,’ ज्ञापनपत्रमा भनिएको छ।

ज्ञापनपत्रमा नेपाल नागरिकता ऐन, २०६३ का दफा १२, १४ र २१ उल्लेख गर्दै झुट्टा विवरणका आधारमा नागरिकता प्राप्त गरेको प्रमाणित भए नागरिकता रद्द तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले विषयमा सत्यतथ्य छानबिन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अभियानका प्रतिनिधिहरूले बताएका छन्।